कृषि उत्पादनका हिसाबले चितवनको अहम् भूमिका रहँदै आएको छ । चितवनमा प्रशस्त कृषियोग्य भूमि रहेको छ र कृषि उत्पादन उल्लेखनीय रूपमा रहँदैआएको छ । एक समय "चितवनको तोरी" भनेर सबैको ओठमा झुण्डिने गरेको चितवन आज चितवनको पोल्ट्री, केरा, मौरी, माछाले त्यत्ति नै नाम कमाएको छ । उत्पादनका हिसाबले पनि कुखुरापालनको राष्ट्रिय मागको ६५% भन्दा बढी नै यहाँबाट पूर्ति हुँदै आएको छ । कुखुरापालन व्यवसाय चितवनमा व्यवसायिक रूपमै फस्टाइसकेको छ । गहुँ र मकै उत्पादनमा पनि चितवन चर्चित नै छ । अहिले आएर तरकारीखेती, केराखेती, मौरीपालन र माछापालनको पनि बढोत्तरी भइरहेको छ । यहाँका रैथाने जातिका कृषि सम्बन्धी परम्परागत ज्ञान, सीप खेतीप्रणालीले क्रमशः आधुनिक रूप लिँदै गएको छ । कृषि प्रणालीमा परिवर्तन आइरहेको छ । अब छरुवा धान खेतीको ठाउँमा व्यवस्थित र वैज्ञानिक खेतीप्रणाली देखापरिसकेको छ । मानिसहरू वैज्ञानिक खेतीप्रणाली तर्फ आकर्षित हुँदै गएकाछन् । पहिले मानिसहरू खाद्यान्न र तेलहन बालीप्रति बढी आकर्षित थिए भने अहिले तरकारी, फलफूल, कुखुरापालन, माछा, बंगुर, मौरीपालन, रेशमखेती, च्याउखेती, पुष्पखेती, व्यवस्थित गाई भैसीपालन तर्फ आकर्षित भएका छन् । यिनै व्यवसायहरूले अग्रगति लिइरहेको यस जिल्लामा उत्पादित कृषि उत्पादन सम्बन्धी वैज्ञानिक ज्ञान, सीप र प्रविधिलाई महोत्सवमा प्रदर्शन गरी परिचयका साथै कृषकहरूलाई जानकारी गराउने उद्देश्य राखिएको छ ।
Agriculture कृषि