चितवन महोत्सव-२०८१ चितवन महोत्सव चितवनको गौरवशाली प्रस्तुति हो । चितवनलाई सुन्दर र समृद्ध बनाउने उद्देश्य बोकेर २०५३ सालदेखि यस महोत्सवको आयोजना गर्न थालिएको हो । दुई-दुई वर्षको अन्तरालमा मनाईदै आएको यो महोत्सव अहिले १५औं शृङ्खलामा आइपुगेको छ ।
महोत्सव अर्थात् महान उत्सव जसले विभिन्न सामाग्रीहरूको प्रदर्शनीलाई समेटेको हुन्छ, चितवन महोत्सवमा पनि सोही बमोजिम कृषि, पर्यटन, सूचना प्रविधि, विद्युतीय, अटोमोबाईल्स, हस्तकला, स्वास्थ्य, शिक्षा आदि लगायतका अन्य विभिन्न औद्योगिक सामाग्रीहरूलाई समेट्दै आएको छ ।
चितवन जिल्लाको समग्र आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, पर्यटकीय आदि विविध क्षेत्रको युगानुकूल विकास एवम् त्यसको संरक्षण र सम्बर्द्धनमा समेत महत्त्वपूर्ण योगदान पुऱ्याउने हेतुले आयोजना गरिएको यस महोत्सवले लगानीका अवसरहरूको खोजी, व्यावसायिक प्रतिस्पर्धाको निम्ति सुमधुर वातावरणको सिर्जना, राष्ट्रिय र अन्तर्राष्ट्रिय उत्पादनहरूको प्रदर्शन र प्रचारप्रसार, वस्तु उत्पादन प्रविधिको जानकारी, कला, साहित्य र संस्कृतिको जगेर्ना, निकासीयोग्य वस्तुहरूको पहिचान जस्ता गहन उद्देश्यहरू बोकेको छ ।
मौरीपालन, पोल्ट्री व्यवसायको प्रवर्द्धन सहित नयाँ प्रविधिहरू समेटी ४३० भन्दा बढि स्टलहरूको व्यवस्था गरिएको यस पटकको महोत्सवमा स्थानीय, राष्ट्रियस्तरका कलाकारहरूका सांस्कृतिक कार्यक्रमहरू, राष्ट्रियस्तरका नीतिगत सेमिनारहरू, साहित्य गोष्ठी लगायतका अन्य विविध आकर्षक कार्यक्रमहरू बोकेर चितवन महोत्सव-२०८१ प्रस्तुत हुँदैछ ।
chitwan Mahotsav



