पर्यटन (Tourism)
 

प्राकृतिक, सांस्कृतिक धार्मिक तथा जैविक विविधताले भरीपूर्ण चितवन जिल्ला पर्यटकीय दृष्टिकोणले तेस्रो गन्तव्य स्थलको रूपमा रहेको छ । नेपालमा आउने पर्यटकहरूको रोजाइमा चितवन स्थापित भइसकेको छ । सामुन्द्रिक सतहबाट करिब १४१ मीटरदेखि १९४५ मीटरसम्म उचाईमा अवस्थित यस जिल्लामा चुरेभावर प्रदेश, तराई प्रदेश र महाभारत लेक गरी तीन भू-भागले २२३८ वर्ग कि.मी. क्षेत्रफल ओगटेको छ ।

जसमध्ये विश्व सम्पदा सूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज लगायत विभिन्न वन-जङ्गलले करिब ६२.६९ प्रतिशत क्षेत्र ढाकेको छ । अग्ला पहाड, हरिया घना जङ्गल, नदी तथा ताल, फराकिला फाँटहरू, सिमसार क्षेत्रहरू र यहाँ पाइने विविधताले भरिपूर्ण चितवन जिल्ला आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने मनोरम दृश्यावलोकन, बाघ, एक सिङ्गे गैंडा, गोही जस्ता दुर्लभ वन्यजन्तुहरूको अवलोकनका साथै चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी लगायत पौराणिक कालदेखि चलिआएका विभिन्न जनजातीका भेषभूषा, चाडपर्व, संस्कार, मौलिक संस्कृति एवम् परम्पराहरूको अध्ययन गर्न सकिनेछ ।

धार्मिक पर्यटनले महत्त्वपूर्ण स्थान ओगटेको देवघाट, बागेश्वरी, विक्रमबाबा, सीतामाई, बाल्मीकी आश्रमका साथै शिवघाट, गुम्बा, मन्दिर, मस्जिद तथा चर्चहरू लगायत नारायणी नदीको किनारसँगै उच्च शिखरमा अवस्थित आकर्षणको केन्द्रबिन्दु रहेको मौलाकालिका मन्दिर र चितवन जिल्लाको सबैभन्दा अग्लो स्थानमा पर्ने सिराईचुली, उपर्दाङगढी जस्ता महत्वपूर्ण स्थलहरूमा पदयात्रा गर्न सकिने जानकारी दिई आन्तरिक पर्यटकलाई समेत बढावा दिन नारायणीमा ऐतिहासिक नौका बिहार, ऱ्याफटिङ र अन्य जलक्रिडाका साथै महोत्सव परिसरभित्र चितवनको पर्यटन क्षेत्रको विकासका लागि विभिन्न पर्यटकीय क्षेत्रहरूको जानकारी गराइने छ । चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी र विदेशी पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ ।

यस्तै थारू भिलेज, थारु जातीको सङ्ग्रहालय पनि पर्यटकहरूको आकर्षणभित्र पर्दछ । चेपाङ जाती भएको पहाडी इलाका उपरदाङगढी, कङ्कालीकोट पनि पर्ने हुनाले थप आकर्षण थपिन पुगेको छ । यसैगरी स्वदेशी र विदेशी अन्वेषकहरूका लागि पनि चितवन आकर्षणको क्षेत्र बनेको छ